काठमाडौं : निर्देशक बलिराम चौहानको निर्देशनमा बन्न लागेको सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा अभिनेता प्रजल दुलाल अनुबन्धित भएका छन्। प्रजल आबद्ध भएसँगै सिनेमाको मुख्य कलाकारको लाइनअप पूरा भएको निर्देशक चौहानले बताएका छन्।
यसअघि सिनेमामा रिहान गिरी, सन्तोष बानियाँ, जीवनजंग बस्न्यात र मुख्य अभिनेत्री गुराँस ढकाल अनुबन्धित भइसकेका छन्। स्काइफल पिक्चर्सको ब्यानरमा भोलानाथ कटुवालको लगानीमा बन्ने सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष, स्वतन्त्रता र मनोविज्ञानको कथा प्रस्तुत गर्नेछ।
असोजको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको हाल प्रि-प्रोडक्सन भइरहेको छ। ‘हरेक युवाको कथा’ स्लोगन राखिएको सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन्।
‘ल्याङ्ग ल्याङ्ग’ शब्द युवापुस्ताले साथीभाइबीचको दबाब वा मानसिक तनावलाई जनाउन प्रयोग गर्ने सन्दर्भलाई सिनेमाले युवाको दैनिक जीवन र उतारचढावसँग जोड्ने निर्माण टिमले जनाएको छ।


















