काठमाडौं : सिनेमा ‘बुकी’मा समावेश ‘तनमनमा भलिबल’ बोलको गीत सार्वजनिक गरिएको छ। विवश कुमार माझी र मोहन केसीको निर्देशनमा बनेको सिनेमाको गीतमा मोहन केसीको शब्द, दीपक शर्माको संगीत तथा प्रमोद खरेल र रचना रिमालको स्वर रहेको छ।
भलिबलमा जीवन समर्पित गरेका खेलाडीको संघर्ष, त्याग र देश चिनाउने सपनालाई गीतमा प्रस्तुत गरिएको छ। भलिबलप्रति खेलाडी र दर्शकको आकर्षण तथा हिमाली र उच्च पहाडी क्षेत्रमा रहेको यस खेलको लोकप्रियतालाई भिडियोमा सुन्दर ढंगले देखाइएको छ।
गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। भिडियोमा बाग्लुङको ढोरपाटनलगायतका रमणीय क्षेत्रलाई समेटिएको छ।
‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुतिमा बनेको सिनेमामा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी र निशा बजगाईंसहितका कलाकारको अभिनय छ।
सिनेमाको छायांकन काठमाडौं, पोखरा र बाग्लुङको ढोरपाटनलगायतका स्थानमा गरिएको हो। विकास गन्दर्भको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको सिनेमाका निर्माता लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा हुन्।


















