काठमाडौं : अमेरिकामा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको लगावलाई निरन्तर आफ्ना सिर्जनामार्फत अभिव्यक्त गर्दै आएका गीतकार बद्री दाहाल ‘अनन्त’ को नयाँ गीत ‘पानी खोलाको’ सार्वजनिक भएको छ।
दाहाल अमेरिकास्थित अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) केन्टकी च्याप्टर का संस्थापक अध्यक्षसमेत हुन्। लामो समयदेखि कविता लेखनमा सक्रिय उनी पछिल्ला समयमा गीत रचनातर्फ पनि उत्तिकै सक्रिय देखिएका छन्।
गीत सिर्जनाप्रतिको आफ्नो आकर्षणबारे दाहाल भन्छन्, “कविता लेख्दै जाँदा गीतले मलाई अझ बढी आकर्षित गर्यो। आफ्ना भावना संगीतमार्फत छिट्टै धेरै श्रोता–दर्शकमाझ पुर्याउन सकिने भएकाले गीत लेखनमा झन् प्रेरित भएँ।”
उनकै शब्द र निर्माणमा तयार भएको ‘पानी खोलाको’ गीतमा संगीतकार केवल थिङ (लामा) को संगीत रहेको छ भने अनुभवी संगीतकार सचिन सिंह ले संगीत संयोजन गरेका छन्। गीतलाई गायक राजु तामाङ र गायिका मेलिना राईले स्वर दिएका छन्। दुवैको सुमधुर गायनले गीतलाई थप आकर्षक बनाएको छ।
गीतको भिडियोमा अभिनेता श्रीदेव भट्टराई र अभिनेत्री ज्योति खड्काको अभिनय देख्न सकिन्छ। भट्टराई नेपाली म्युजिक भिडियो तथा चलचित्र क्षेत्रमा परिचित कलाकारका रूपमा स्थापित छन् भने ज्योति खड्का उदाउँदी अभिनेत्रीका रूपमा आफूलाई स्थापित गर्ने यात्रामा छिन्।
अभिनेत्री ज्योति खड्काबारे भिडियोका निर्देशक नवल नेपाल भन्छन्, “ज्योतीमा नेपाली चलचित्र उद्योगको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्न सक्ने क्षमता देखिन्छ। अभिनय, नृत्य र क्यामेरासामु प्रस्तुत हुने आत्मविश्वासमा उनी निकै अब्बल छिन्। निरन्तर मेहनत र सही अवसर पाए नेपाली सिने क्षेत्रमा उनले राम्रो स्थान बनाउने विश्वास छ।”
भिडियोको छायांकन ईश्वर सिंकेमन ले गरेका हुन् भने सम्पादन नहकुल खड्का को रहेको छ। मौलिक परिवेश, आकर्षक दृश्य संयोजन र संगीतको सन्तुलित प्रस्तुतिका कारण भिडियोले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।
‘पानी खोलाको’ भिडियो ओएसआर डिजिटल को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संगीतलाई निरन्तर योगदान दिइरहेका बद्री दाहाल ‘अनन्त’ को यो नयाँ सिर्जनाले नेपाली मौलिक गीत–संगीतप्रेमीमाझ छुट्टै स्थान बनाउने विश्वास निर्माण टिमले लिएको छ।














