Sur Cinema

चितवनमा ‘गौथली’ टिम, साउन १ देखि प्रदर्शनमा

काठमाडौं : आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘गौथली’को निर्माण टिमले शुक्रबार चितवनमा पत्रकार भेटघाट गर्दै सिनेमाको प्रचार–प्रसारलाई तीव्र बनाएको छ।

निर्देशक डा. कपिल रिजालले ‘गौथली’ नेपाली ग्रामीण समाजको यथार्थ, संघर्ष र मौलिकतालाई समेटिएको सामाजिक कथामा आधारित सिनेमा भएको बताए। उनका अनुसार सिनेमा डा. भोला रिजालको गीतिसंग्रह गौथलीबाट प्रेरित भएर निर्माण गरिएको हो।

निर्माता सुमन गिरीले मौलिक कथावस्तुका कारण सिनेमाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। मुख्य अभिनेता अरुण क्षेत्रीले आफूले माइल्ड अटिजम भएका पात्रको भूमिका निर्वाह गरेको जानकारी दिए भने अभिनेत्री सिम्रन खड्काले नेपाली महिलाको संघर्ष र आत्मसम्मान झल्किने सशक्त भूमिका निर्वाह गरेको बताइन्।

निर्माण टिमका अनुसार नेपालका रमणीय पर्यटकीय स्थलमा अत्याधुनिक प्रविधिबाट छायांकन गरिएको ‘गौथली’का गीत र टिजर यसअघि नै दर्शकमाझ लोकप्रिय भइसकेका छन् भने ट्रेलर आजै शुक्रबार सार्वजनिक भएको छ ।