Sur Cinema

‘एक मुठ्ठी बादल’को ट्रेलर : सम्बन्ध र अपेक्षाको उतारचढाव प्रस्तुत

काठमाडौं : आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक २ मिनेट लामो ट्रेलरले विवाह र सम्बन्धलाई लिएर परिवारभित्रको जटिलता, बुझाइ र दृष्टिकोणलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

निर्देशक सहारा शर्माले मुख्य पात्र आँचल शर्माको विवाहप्रतिको असन्तुष्टि र परिवारले त्यसलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने अवस्थालाई केन्द्रमा राखेकी छन्। यसले सम्बन्ध र अपेक्षाको उतारचढावलाई रोचक बनाएको छ।

सिनेमामा आँचलसँगै निशा शर्मा, उषा रजक, भिमा मैनाली लगायत कलाकारको अभिनय रहेको छ। तीन दशकपछि निशा शर्माले यही सिनेमाबाट अभिनयमा पुनरागमन गरेकी हुन्। गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको निर्माणमा बनेको सिनेमामा अभिमन्यु दीक्षित निर्माता र निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।