काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘रसियन सिनेमा डेज’को औपचारिक उद्घाटन कमलपोखरीस्थित रसियन हाउसमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपालका लागि रसियन मिनिस्टर काउन्सिलर चार्ज डी अफेयर्स रिनचिन रक्साएब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेको उपस्थिति रहेको थियो। वक्ताहरूले सिनेमाले समाजमा सकारात्मक प्रभाव पार्ने र अन्तर्राष्ट्रिय सहकार्यले देश–देशबीच सम्बन्ध अझ प्रगाढ बनाउने धारणा व्यक्त गरे।
यस अवसरमा ‘अगस्ट’ सिनेमा प्रदर्शन गरिएको छ। साथै, ‘द च्यालेन्ज’, ‘द डिनो प्यामिली’ र ‘अल रङ गर्ल’ पनि प्रदर्शन गरिनेछन्। क्लिम शिपेन्कोद्वारा निर्देशित ‘द च्यालेन्ज’ अन्तरिक्षमा छायाङ्कन गरिएको विश्वकै पहिलो सिनेमा हो।
उक्त सबै सिनेमाहरू रसियन हाउसमा निःशुल्क हेर्न सकिने आयोजकले जनाएको छ।















