Sur Cinema

‘पाँच पाण्डव’को छायांकन सुरु

काठमाडौं : काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभ–मुहूर्त गर्दै छायांकन थालिएको हो।

सिनेमामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) मुख्य भूमिकामा देखिनेछन्। ‘पाँच पाण्डव’ शीर्षक भए पनि यो धार्मिक वा पौराणिक कथा नभई समकालीन समाजको कथामा आधारित सामाजिक ड्रामा रहेको निर्माण टिमले जनाएको छ। फिल्ममा दीपाश्री निरौला र जनी गुरुङ पनि महत्वपूर्ण भूमिकामा रहनेछन्।

सिनेमालाई वसन्त निरौलाले निर्देशन गर्दैछन् भने कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। नवीन श्रेष्ठ प्रस्तुतकर्ता र काली रानी श्रेष्ठ निर्माता रहेको यस फिल्मको छायांकन श्याम तामाङले गर्नेछन्।

करिब ४० दिनको छायांकन तालिका तय गरिएको सिनेमाका अधिकांश दृश्य झापामा खिचिनेछन्। साथै, सिनेमाको साउन्ड मिक्सिङ डल्बी एट्मस प्रविधिमा तयार गरिने निर्माण पक्षले जनाएको छ।