काठमाडौं : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारीप्रधान सिनेमा ‘टिका (Stateless Soul)’ निर्माण हुने घोषणा गरिएको छ। भविष्य फिल्मस् प्रालिको प्रस्तुति तथा थर्ड आइ आर्ट्स प्रालिको सहकार्यमा बन्ने सिनेमालाई निर्देशक शंकर कार्कीले निर्देशन गर्नेछन्।
महिलाको संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथामा आधारित यस सिनेमाको थीम पोस्टर सार्वजनिक गरिएको छ, जसमा रातो गोलाकारभित्र सेतो अक्षरमा ‘टिका’ लेखिएको देखिन्छ।
सुपरहिट सिनेमा ‘जेरी अन टप’की निर्मात्री भविष्य खड्का निर्माता रहेको यस सिनेमामा महेश त्रिपाठी, ऋचा शर्मा, वर्षा शिवाकोटी, निर्मल शर्मा र बाल कलाकार आयुशी ढकाल मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।
चन्दन झा र निर्देशक कार्कीको कथामा आधारित सिनेमाको पटकथा रामकुमार श्रेष्ठले लेखेका हुन्। कार्यकारी निर्माता तेजविक्रम केसीका अनुसार ‘टिका (Stateless Soul)’ले मनोरञ्जनसँगै सशक्त सामाजिक सन्देश दिनेछ। सम्पूर्ण कास्ट एण्ड क्रू तय भएपछि छायांकन सुरु गरिने र सोही बेला प्रदर्शन मिति पनि घोषणा गरिने निर्माण टिमले जनाएको छ।















