काठमाडौं : फागुन २९ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘लालिमा’मा अभिनय गरेका नायिका रोश्नी कार्की र उषा रजकले यस सिनेमामा काम गर्दा फरक अनुभव भएको बताएका छन्।
रोश्नी कार्कीले पहिलो पटक शीर्ष भूमिका निर्वाह गरेकी हुन्। सिनेमाको शीर्षक नै आफ्नो पात्र ‘लालिमा’बाट राखिएकाले उनले यसलाई अवसर र चुनौती दुवैका रूपमा लिएको बताइन्। यौनकर्मीको भूमिका निर्वाह गर्न उनले पात्र निर्माणका लागि यौनकर्मीहरूसँग भेटघाटसमेत गरेको अनुभव सुनाइन्।
यसैगरी उषा रजक सिनेमामा बोल्न नसक्ने आमाको भूमिकामा देखिएकी छन्। लामो अभिनय करिअरमा उनले पहिलो पटक आमाको चरित्र स्वीकार गरेकी हुन्। दर्शकबाट आएको सुझावलाई मनन गर्दै आफूले यस्तो भूमिका रोजेको उनले बताइन्।
रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको सिनेमामा जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देलको पनि अभिनय रहेको छ।















