काठमाडौं : माघ २३ गते रिलिज हुने प्रेमकथानक सिनेमा ‘कुमारी’को ट्रेलर राजधानीको भृकुटीमण्डपमा आयोजित भव्य कार्यक्रममा सार्वजनिक गरिएको छ। हजारौ दर्शकको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यो कार्यक्रम नेपाली सिने इतिहासमै ट्रेलर सार्वजनिकतर्फको ऐतिहासिक घटना बनेको छ।
खुला आकाशमुनि हजारौँ दर्शकबीच ट्रेलर रिलिज गर्न पाएकोमा निर्देशक दिनेश राउतले खुसी व्यक्त गर्दै दर्शकको उत्साह हलसम्म पनि पुग्ने विश्वास व्यक्त गरे। निर्माता महेन्द्र अधिकारीले दर्शकको मायाले आफूलाई अझ जिम्मेवार बनाएको बताए।
कार्यक्रममा पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ सहित ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ले साङ्गीतिक प्रस्तुति दिएका थिए। सिनेमाका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकबाट पाएको स्वागतले आफूहरू भावुक बनेको बताए।
ट्रेलरले संवेदनशील प्रेमकथा, पारिवारिक सम्बन्ध र भावनात्मक द्वन्द्वलाई प्रभावशाली ढङ्गले प्रस्तुत गरेको छ। अभिनय, सङ्गीत र दृश्य संयोजन दर्शकको मन छुने देखिन्छ। सार्वजनिक भएसँगै ट्रेलर युट्युब ट्रेन्डिङमा पुगेको छ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीले लेखेको ‘कुमारी’मा अबिषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ। छायाङ्कन सुसन प्रजापतिले गरेका छन्।















