काठमाडौं : हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ निर्देशित तथा अभिनीत सिनेमा ‘गोबर गणेश’ले सेन्सर बोर्डबाट ‘यू’ (युनिभर्सल) सर्टिफिकेट पाएको छ। अब माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा यो सिनेमा परिवारसहित हेर्न सकिनेछ।
पढाइमा कमजोर एक गाउँले युवक काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष कथामा आधारित सिनेमाको पोस्टर, ट्रेलर र गीतले राम्रो चर्चा बटुलिरहेका छन्। सेन्सर बोर्डले सिनेमालाई सकारात्मक प्रतिक्रिया दिएको निर्देशक बल्छी धुर्वेले बताएका छन्।
बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा बल्छिको अलावा वर्षा शिवाकोटी, बुद्धि तामाङ, विशाल पहाडी, स्वस्तिका लामिछाने, सन्तोष बानिया र पदम तामाङ लगायत कलाकारको अभिनय रहेको छ। शिवराम श्रेष्ठको छायांकन, विपीन मल्लको सम्पादन र योगेश काजी शाहको बीजीएम रहेको सिनेमालाई नेपालमा श्री ब्याकटेस इन्टरटेनमेन्टले वितरण गर्दैछ।















