काठमाडौं : इन्टरनेशनल नेपाली आर्टिस्ट्स सोसाइटी (इनास) नेपाल च्याप्टर र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रबीच कलाकार तथा स्रष्टाहरूका लागि स्वास्थ्य सहकार्यसम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
सन् २०२६ जनवरी १ गते सम्पन्न सम्झौतामा इनास नेपालका अध्यक्ष ऋषि लामिछाने र कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका निर्देशक डा. प्रतीक्षा श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार केडीसी जनरल अस्पताल इनास नेपालको आधिकारिक स्वास्थ्य साझेदार रहनेछ।
इनासका सदस्य, उनीहरूका परिवार तथा सिफारिस प्राप्त व्यक्तिहरूले भर्ना उपचारमा २५ प्रतिशत, ओपीडी तथा क्लिनिकल सेवामा १५ प्रतिशत र प्रयोगशाला, रेडियोलोजी, दन्त तथा अन्य विशेषज्ञ सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन्।
कार्यक्रममा इनास नेपालका संरक्षक दयाराम पाण्डेले कलाकारको सिर्जनशीलता जोगाउन स्वास्थ्य महत्वपूर्ण रहेको बताए । अध्यक्ष लामिछानेले यो सम्झौताले कलाकार र उनीहरूको परिवारलाई स्वास्थ्य सुरक्षाको भरोसा दिएको उल्लेख गरे ।
कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ र सीईओ हिमाल रानाले कलाकारमैत्री सेवा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरे।
सम्झौतासँगै आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए। कार्यक्रममा इनास नेपालका पदाधिकारी, कलाकार तथा सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दुवै संस्थाले आगामी दिनमा स्वास्थ्य, कला र सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।















