Sur Cinema

‘बिगुल’को गीत ‘आऊ यस्तो देश बनाऔँ’ सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द तथा संगीत रहेको सिनेमा ‘बिगुल’को गीत ‘आऊ यस्तो देश बनाऔँ’ सार्वजनिक गरिएको छ। गीतमा राजेश पायल राईको स्वर छ। देशप्रेम, राष्ट्रभक्ति, समावेशिता र जनजागरणको सन्देश बोकेको गीतमा फिल्मका प्रमुख कलाकारहरू देखिएका छन्।

रमेश कोइरालाको निर्देशन तथा दिनेश कोइरालाको कथा र निर्माणमा बनेको ‘बिगुल’ माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। आम निर्वाचनको सन्दर्भमा सार्वजनिक गरिएको गीतले चुनावी माहौल झल्काउँछ।

कल्पना पौडेलको प्रस्तुति रहेको सिनेमामा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, सरोज खनाल, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ। म्याग्नोलिया ग्रुपको ब्यानरमा बनेको सिनेमाको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्।