काठमाडौं : आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परिवर्तन’ को गीत ‘पाकेको चिउरी’ सार्वजनिक गरिएको छ। बिहीबार क्रिसमसको अवसरमा रिलिज भएको गीतको भिडियोमा मुख्य कलाकार सुशिल श्रेष्ठ र अञ्जना बराइली रोमान्टिक अवतारमा देखिएका छन्।
लोकलयमा आधारित गीतमा एसडी योगी र रेश्मा पुनको स्वर, मौसम अर्यालको शब्द तथा संगीत निर्देशन स्वयं योगीको रहेको छ। भिडियोलाई शिव ढकालले खिचेका हुन् भने कोरियोग्राफी रामजी लामिछानेको छ।
विजय केरुङ निर्देशित एक्सन–सस्पेन्स कथानक सिनेमामा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ। दिब्यासी फिल्मस्को ब्यानरमा बनेको यो सिनेमा आरआर फिल्मस्ले वितरण गर्दैछ।















