काठमाडौं : यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘मिरमिरे’को टाइटल गीत सार्वजनिक भएको छ । ‘मिरमिरे भो’ शीर्षकको गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर रहेको छ भने शब्द तथा संगीत पनि प्रकाश सपूतकै हो ।
गीतले युवा–युवतीबीचको पहिलो भेटपछि पैदा हुने आकर्षण र प्रेमभावलाई प्रस्तुत गर्छ । सुन्दरताबाट मोहित हुने कथा र युवक–युवतीबीचको भावनात्मक प्रभाव गीतमा सुन्न सकिन्छ । गीतको भिडियोमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु फिचर्ड छन् । भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ, जसले चलचित्रको कथावस्तुबारे संकेत गर्छ ।
माघ १ गतेबाट प्रदर्शनमा आउने ‘मिरमिरे’को टिजर यसअघि नै दर्शकको राम्रो प्रतिक्रिया पाएको थियो । टिजरमा बाबा–छोरीबीचको भावनात्मक सम्बन्ध र मुख्य पात्रहरूबीचको द्वन्द्व देखाइएको छ । सिनेमामा दयाहाङ राई बुवाको भूमिकामा छन् भने उनकी छोरीको पात्र शाइसा गौचनले निभाएकी छन् । यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ । सिनेमाको देशभर वितरण आरआर फिल्म्सले गर्नेछ ।















