काठमाडौं : यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने सिनेमा ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा पुगेको छ। दुई गीतमध्ये पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन हाल काठमाडौंको जर्सिङ पौवामा भइरहेको छ भने भोलि इन्द्रावती नदीमा निरन्तरता दिने तयारी छ।
एसडी योगीको सङ्गीतमा रामकृष्ण ढकाल र रीतिका श्रेष्ठको स्वर रहेको यो गीतमा विजय बराल र वर्षा राउतले क्लासिक बलिउड शैलीमा रोमान्टिक नृत्य प्रस्तुत गरेका छन्। कोरियोग्राफी रोशन बिकेले गरेका हुन्। यो गीतपछि एक मात्र गीतको छायाङ्कन बाँकी छ, जसपछि सिनेमाको सम्पूर्ण शूटिङ पूरा हुनेछ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि. र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको सिनेमाका निर्माता रामकृष्ण ढकाल हुन्। निर्देशक प्रकु पाण्डेयले लेखन तथा निर्देशन दुवै जिम्मेवारी सम्हालेका छन्, पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन्।
सिनेमामा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन् भने सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरीलगायत अनेक कलाकारहरूको पनि उल्लेखनीय उपस्थिती छ।















