Sur Cinema

अस्ट्रेलिया र न्युजिल्यान्डमा ‘अभिमन्यु’ले गर्यो ऐतिहासिक सफलता हासिल

काठमाडौं : सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक सफलता हासिल गरेको छ। डिसेम्बर ११ बाट रिलिज हुने सिनेमाले पहिलो सातामै पाँच सयभन्दा बढी शो पाएको सह–निर्माता रमेश चौलागाईंले जानकारी दिएका छन्। दर्शक चापका कारण शो अझै थपिने उनले बताए।

नेपालमा गत बिहीबारदेखि प्रदर्शनमा आएको सिनेमाले उत्कृष्ट रिभ्यू पाउँदै उच्च अकुपेन्सी कायम राखेको छ। दाइजो प्रथा र सामाजिक प्रवृत्तिहरूमा आधारित कथाले दर्शकलाई मजबुत रूपमा होल्ड गरेको प्रतिक्रिया आएको छ।

दर्शकहरूले सिक्वेलको माग गरिरहेका छन्, र ‘च्याप्टर–१’ भएकाले सिक्वेल आउने निश्चित मानिएको छ।सुशान्त गौतमद्वारा निर्देशित सिनेमामा मुकेश खनालको लेखन तथा मदन थापाको क्रिएटिभ निर्देशन छ।

निर्माताहरू विनोद पौडेल र गुञ्जन गिरी हुन्। डिओपी शरद महतो, सम्पादन मदन घिमिरे, भिएफएक्स मनोज श्रेष्ठ र रंग संयोजन जुनिम गहतराजको छ।