Sur Cinema

‘कुमारी’को पहिलो गीत सार्वजनिक, माघ २३ मा रिलिज

काठमाडौं : निर्देशक दिनेश राउतको प्रेमकथानक सिनेमा ‘कुमारी’ले पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गर्दै माघ २३ गते देशभर प्रदर्शनमा आउने घोषणा गरेको छ। भ्यालेन्टाइन डे नजिक रिलिज मिति परेकाले सिनेमाले युवा दर्शकलाई लक्षित गरेको बुझिन्छ।
टुँडिखेलमा भव्य रूपमा गरिएको घोषणाक्रममा गीतलाई लाइभ प्रस्तुत गरिएको थियो । केहर सिंह लिम्बु तथा ‘केहर एन्ड द लुङ्गा’को स्वर–संगीतमा तयार भएको गीत युट्युब र टिकटकमा तीव्र रूपमा भाइरल बन्दै गएको छ।

सिनेमामा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा डेब्यु गर्दै छन्। घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा लगायत कलाकारको अभिनय रहनेछ।

राउतले ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ पछि फेरि प्रेमकथामा फर्किँदै ‘कुमारी’ ल्याएका हुन्। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा महेन्द्र अधिकारी निर्मित फिल्ममा चार गीत छन्। संगीतमा लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको काम छ भने शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

सिनेमाको छायांकन सुसन प्रजापतिले, सम्पादन सुप्रिम पराजुलीले र रङ्ग संयोजन समेत गरेका छन्। डिजिटल वितरण केन्द्र मोशन पिक्चर्स, काठमाडौंमा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले गर्नेछन्।