Sur Cinema

म्याग्दीबाट सुरु भो ‘रोल नं. १’को छायांकन

काठमाडौं : सिनेमा ‘रोल नं. १’ को छायांकन म्याग्दीबाट सुरु भएको छ । दुई हप्ता लामो वर्कसपपछि टिम सुटिङमा निस्किएको हो। करिब डेढ महिनाको सेड्यूलमा छायांकन सम्पन्न गर्ने योजना छ।

सिनेमामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भिक रेग्मी मुख्य भूमिकामा छन् । जोन योञ्जन निर्देशित तथा लेखन रहेको यो सिनेमा विद्यार्थीले भ्रम, सामाजिक प्रतिष्ठा र ‘पहिलो हुनैपर्छ’ भन्ने मानसिक दवाबका कारण भोग्नुपर्ने अवस्थालाई केन्द्रमा राखेर तयार हुँदैछ।

यसअघि सार्वजनिक फर्स्ट लुकमा कक्षाकोठामा उपस्थित जनाइरहेको एक बालक र कक्षा गतिविधि देखाइएको थियो। महेश दवाडीको पटकथा–संवाद, प्रशान्त शिवाकोटीको संगीत, शिवराम श्रेष्ठको डीओपी, फिरोज खड्काको चिफ एडी, कला संग्रौलाको प्रोडक्सन डिजाइन तथा मदन घिमिरेको सम्पादन रहने सिनेमा सेभेन सिज सिनेमाको ब्यानरमा विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गर्दैछन्।