काठमाडौं : पहिचानवादी आन्दोलनको कथामा आधारित सिनेमा ‘लडाइँ पहिचानको’को ट्रेलर सार्वजनिक भएको छ। भीम लामा फिल्म्सको ब्यानरमा बनेको यो एक्शन–ड्रामा मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
२ मिनेट ४७ सेकेन्डको ट्रेलरमा कोशी प्रदेश नामाङ्कनपछि सुरु भएका संघर्ष, आन्दोलन, बलिदान र सामाजिक द्वन्द्वलाई भावनात्मक रूपमा चित्रण गरिएको छ। इन्डियन आइडल विजेता प्रशान्त तामाङको पात्रलाई केन्द्रमा राखिएको संकेत ट्रेलरले दिन्छ।
सिनेमामा करिश्मा मानन्धर, धीरेन शाक्य, जेनी घिसिङ, प्रेम सुब्बा, सुरवीर पण्डितसहित कोशी प्रदेशका धेरै कलाकारको सहभागिता छ, जसले सिनेमालाई स्थानीय रंग प्रदान गरेको छ।
सिनेमाको लेखन–निर्देशन भीम लामाले गरेका हुन्। छायांकन मदन कश्यप घिमिरे, सम्पादन रमेश डी कौशिक तथा संगीत बलराम समाल, भीम बस्नेत, दिप्सन लिम्बू, शेखर थापा र सागर तामाङले दिएका छन्। वितरण कुबेर सिने डिस्ट्रीब्युसनले लिएको छ।















