Sur Cinema

भावनात्मक कथावस्तु झल्काउने ‘आ बाट आमा’को दुई पोस्टर

काठमाडौं : ‘आ बाट आमा’ सिनेमा आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। बुधबार निर्माण टिमले सिनेमाको भावनात्मक कथावस्तु झल्काउने दुई पोस्टर सार्वजनिक गरेको छ।

पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त र साइग्रेस पोखरेललाई देखाइएको छ। पहिलो पोस्टरमा सबै खुशी मुद्रामा छन् भने दोस्रोमा विपना र प्रदीप भावुक मुद्रामा र पल शाह रगताम्य देखिन्छन्।
‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनाउनु पर्यो’ भन्ने स्लोगनमार्फत सिनेमाले आमाबुबा र सन्तानबीचको सम्बन्ध उजागर गर्छ।

चन्द्र पन्तले निर्देशन तथा लेखन गरेको यो ग्रामीण कथामा आर्या पन्तको प्रस्तुति छ। कलाकारमा विपना, प्रदीप, पल, सिम्रन, साइग्रेससहित उषा उप्रेती, रवीन्द्र झा, विशाल पहाडी, गजित बिष्ट लगायत छन्।
सिनेमाका निर्माता ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना हुन्। आरआर फिल्म्सले वितरण र ओएसआर डिजिटलले डिजिटल अधिकार सम्हालेको छ।

सिनेमाको विदेश प्रदर्शन अधिकार अस्ट्रेलिया र न्युजिल्याण्डमा ‘हिमारु इन्टरटेन्मेन्ट’ले लिइसकेको छ। संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम, र क्यामेरामा नवराज उप्रेती रहेका छन्।