काठमाडौं : भाइटिकाको दिनदेखि प्रदर्शनमा आउने सिनेमा ‘सोल्टिनी’ हाल देशभर देउसी–भैलो कार्यक्रममार्फत प्रचार–प्रसारमा व्यस्त छ।कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाइरहेका छन्।
प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ र सुजन खतिवडालगायतको टोलीले झापा, मोरङ र सुनसरीमा देउसी कार्यक्रम गरी उत्सवमय प्रचार अभियान चलाएको छ। कार्यक्रमबाट संकलित रकम लिम्बू सिनेकर्मीहरूको अक्षयकोषमा सहयोग गरिएको छ।
अर्जुन सुवेदीको निर्देशनमा बनेको ‘सोल्टिनी’ अन्तरजातीय प्रेमकथामा आधारित सिनेमा हो, जसले सामाजिक विभेद र प्रेममा देखिने संघर्षलाई संवेदनशील रूपमा प्रस्तुत गर्छ।
२ घण्टा २५ मिनेट लामो यस सिनेमाले ‘युनिभर्सल’ प्रमाणपत्र पाएको छ, जसअनुसार सबै उमेरका दर्शकले हेर्न मिल्ने परिवारमैत्री सिनेमा हो। अग्रिम टिकट बिक्री सुरु भइसकेको ‘सोल्टिनी’ले मनोरञ्जनसँगै सामाजिक सन्देश दिने अपेक्षा गरिएको छ।















