काठमाडौं : टंक बुढाथोकीको निर्देशनमा तयार भएको सिनेमा ‘मन बिनाको धन’को पोस्टर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झा देख्न सकिन्छ।
यो सिनेमा सामाजिक विषयवस्तुमा आधारित छ। सिनेमाको कथा बुढाथोकी स्वयंले लेखेका हुन् भने पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन्।
कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने सिनेमाकी निर्माता विष्णुमाया मैनाली हुन् भने कार्यकारी निर्माता सपना शर्मा रहेकी छिन्। यस्तै, जी.पी. संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा रहेका छन्।

अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत चर्चामा आएका थिए। सो गीतमा टंक बुढाथोकीको संगीत रहेको थियो। हाल दर्जी काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।
सिनेमामा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल र विजय डंगोल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सिनेमामा टंक बुढाथोकीको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन तथा नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ। सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।















