Sur Cinema

विवाहको परिवेशमा ‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’ : अधिकांश कलाकार एउटै फ्रेममा

काठमाडौं : सिनेमा ‘परान’मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सिनेमाको रमाइलो नृत्यप्रधान गीत सार्वजनिक गरिएको हो ।
दसैंको अवसर पारेर सार्वजनिक यो गीत विवाहको परिवेशमा आधारित छ ।

गीतको भिडियोमा सिनेमाका अधिकांश जसो कलाकारहरूलाई एउटै फ्रेममा देख्न सकिन्छ । मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायत कलाकारहरूले यो भिडियोमा नृत्य तथा अभिनय गरेका छन् । दर्शकलाई नचाउने खालको यो गीतमा तीन जना गायक र दुई जना गायिकाले स्वर दिएका छन् । प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.कको स्वर यो गीतमा सुन्न सकिन्छ ।
गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेल हो । गीतको भिडियोका कोरियोग्राफर सुनिल क्षेत्री हुन् । आयोजित गीत रिलिज कार्यक्रममा बोल्दै यसका निर्माता, निर्देशक तथा कलाकारहरूले गीतलाई दर्शकहरूले रूचाउने विश्वास व्यक्त गरे ।

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ । पूर्ण पारिवारिक कथामा बनेको सिनेमाको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले सिनेमाको मूल सन्देश अर्थात् एकअर्काको साथको महत्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले ‘परान’ को निर्माण गरेको हो । बाइस्कोप सिनेमाको एकल ब्यानरमा यो पहिलो प्रोजेक्टका रूपमा निर्माण गरिएको सिनेमा हो । सिनेमाका निर्माताहरूमा रञ्जित आचार्य र शेखर गोल्छा रहेका छन् ।

दीपक आचार्यको कथा रहेको यस सिनेमाको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको सिनेमाको सम्पादन मित्र डी. गुरूङले गर्दैछन् । दसैं र तिहारलगत्तै यो सिनेमा देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको छ ।