Sur Cinema

‘अभिमन्यु : च्याप्टर १’को रिलिज मिति हेराफेरी !

काठमाडौं : असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेर अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । १३ गतेकै दिन चारवटा नेपाली सिनेमा एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ ।

यस दिन सिनेमालाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामीले भदौ २७ गते प्रदर्शन गर्ने भनिएको सिनेमा ‘अभिमन्यु – च्याप्टर १’ देशमा भएको जेन जेट आन्दोलनका कारण स्थगन गर्नु परेको थियो । तर हाम्रो सम्पूर्ण मार्केटिङ सामग्री प्रयोग भइसकेको र असोज १३ गतेकै दिन अन्य धेरै सिनेमाहरू प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली सिनेमाहरूलाई समेत असर पार्ने अवस्था देखियो । यी सबै पक्षलाई विचार गरी हामीले शुभ साईत असोज २४ गते लाई सिनेमाको अन्तिम प्रदर्शन मिति तय गरेका छौँ । यस दिन सिनेमालाई नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी गराउछौँ ।

तपाईंहरूको साथ र समर्थनका लागि आभारी रहँदै यस निर्णयका कारण देश तथा विदेशमा रहनुभएका वितरक, प्रदर्शक, दर्शक र सन्चारमाध्यममा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।”

यस पटक सिनेमाले सोलो रिलिजको मौका पाएको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस सिनेमामा मुकेश खनालको लेखन रहेको छ ।

सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् । शरद महतोको डिओपी रहेको यस सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ ।