काठमाडौं : सिनेमा ‘परान’को पहिलो झलक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । कार्तिक १४ गतेदेखी प्रदर्शन हुने सिनेमाको पहिलो झलकमा महेश त्रिपाठी र अन्जना बराईलीको जोडी बाधेको देख्न सकिन्छ ।
दीपक प्रसाद आचार्य (काकु)को निर्देशनमा निर्माण भएको सिनेमामा ‘सासले हैन, साथले चल्ने’ शब्दावलीसहित बटमलाइन राखिएको छ । यसले जीवनमा भौतिक अस्तित्वभन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ ।
सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र आर्यादीप आचार्यको पनि अभिनय छ ।
व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको निर्माण साझेदारी रहेको सिनेमा बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको हो । सिनेमाको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् ।
शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमालाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । रिदम कँडेलको संगीत रहेको सिनेमाको गीतमा प्रमोद खरेल, पुष्पण प्रधान र रचना रिमालले स्वर दिएका छन् ।















