काठमाडौं : तिहारको भाइटीकामा रिलिजको तयारीमा रहेको सिनेमा ‘वरिष्ठ बलराम’को पोस्टर सार्वजनिक भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको सिनेमाका दुईवटा पोस्टर सार्वजनिक भएका हुन् ।
सार्वजनिक पहिलो पोस्टरमा सिनेमाका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन् । दयाहाङ विजयले मुख्य स्थान पाएको पोस्टरमा बाँकी अन्य कलाकारलाई पनि देख्न सकिन्छ । पोस्टरले सिनेमाको कथा के हो भन्नेमा कौतुहलमा सिर्जना गरेको छ ।
अर्को पोस्टरमा मुख्य कलाकारद्वय दयाहाङ र विजय छन् । जसमा यी दुई एक अर्काविरुद्ध उत्रिएका छन् । घम्साघम्सी गरिरहेको यो पोस्टरले उनीहरू दुई आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेको प्रष्ट पार्छ ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’ पोस्ट प्रोडक्सनमा छ । सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो । मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमामा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।















