Sur Cinema

नेपाल र सिक्किमबीच सिनेमा क्षेत्रमा सहकार्यका लागि चलचित्र विकास बोर्डद्वारा छलफल

काठमाडौं। नेपाली सिनेमाको विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले नेपाल सरकारको चलचित्र विकास बोर्डले नवनियुक्त सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियालाई काठमाडौंमा औपचारिक स्वागत गरेको छ।

यो स्वागत कार्यक्रममा दुवै बोर्डका पदाधिकारीहरूबीच भविष्यमा हुन सक्ने सहकार्यका विविध सम्भावनाहरूबारे सकारात्मक छलफल भएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले सिक्किमसँगको सहकार्य नेपाली सिनेमाका लागि एउटा स्वर्णिम अवसर हुने विश्वास व्यक्त गर्दै भुटिया र उनको टिमलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

पछिल्लो छ महिनामा यी दुईबीच तीनपटक भेटघाट भएपनि सिक्किम सरकारले भुटियालाई बोर्ड अध्यक्षमा नियुक्त गरेपछिको यो पहिलो औपचारिक भेट हो।उक्त कार्यक्रममा सिक्किमबाट मनोज लामा, दास तामाङ र उत्तम प्रधानको पनि उपस्थिति थियो।

यस भेटघाटमा नेपालका वरिष्ठ सिनेमाकर्मीहरू तुलसी घिमिरे, भारती घिमिरे, चलचित्र विकास बोर्डका सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट, गणेश सुवेदी, सदस्य सचिव राजेश थापा, कलाकार जीवन लुइँटेल, जितु नेपाल, पन्चमी घिमिरे, सम्पादक नहकुल खड्का, निर्माता केवल तामाङ, ‘कमेडी दरबार’ टिमका श्रद्धा प्रसाईं, बिक्की अग्रवाल र कान्तिपुर फिल्म एकेडेमीका प्रकाश पुरी लगायतको उपस्थिति थियो।