काठमाडौं। नेपाली समाजमा लैंगिक अल्पसंख्यकहरूको पीडा र संघर्षलाई उजागर गर्ने सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलरले यतिबेला सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
निर्देशक समुन्द्र भट्टका अनुसार, ट्रेलरले पाएको प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित बनाएको छ। उनी भन्छिन्, “ट्रेलरको प्रतिक्रियाले हामीले अपेक्षा गरेको सफलताको छनक दिएको छ।”
नेपाली समाजमा पितृसत्तात्मक सोच र अन्तरमुखी स्वभावका कारण महिला तथा तेस्रोलिंगीले आफ्नो पहिचान लुकाएर बस्नुपर्ने अवस्था छ। यही विषयवस्तुलाई सिनेमामा प्रस्तुत गरिएको छ, जहाँ एक छोरो महिलाको स्वभावको भए पनि परिवार र समाजको डरले आफ्नो चाहना दबाएर बाँच्न बाध्य हुन्छ।

मुख्य अभिनेता नाजिर हुसेन ले सिनेमाबाट ठूलो अपेक्षा राखेका छन्। उनी भन्छन्, यो सिनेमाले उनलाई नयाँ चरित्रमार्फत दर्शकमाझ चिनाउनेछ। सिनेमामा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गरेका छन्, जुन नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरी मानिएको छ।
‘गुन्यु चोलो : द ड्रेस’ आगामी भदौ १३ गते रिलिज हुँदैछ। यसमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी को पनि मुख्य भूमिका छ।
नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको यो सिनेमामा आकाश बुढाथोकी र भि-भन्से जानुबोन को लगानी छ। यसको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले खरिद गरेको छ।
सिनेमाको सम्पूर्ण पोस्ट-प्रोडक्सनको काम हलिउड शैलीमा विदेशमा गरिएको छ, जसमा हलिउड सिनेमा ‘ग्ल्याडिएटर-२’ की कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन्।















