Sur Cinema

‘जेरी अन टप’को गीतको लागि अनमोल र आँचल जयपुरमा

काठमाडौं। आगामी असोज ३१ गते तिहारको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘जेरी अन टप’ को निर्माण टिम यतिबेला भारतको जयपुरमा व्यस्त छ। सिनेमाको एक गीतको छायांकनका लागि मुख्य कलाकार अनमोल केसी र आँचल शर्मा सहित निर्माता, निर्देशक र प्राविधिक टोली राजस्थान पुगेको हो।

प्राप्त तस्बिरहरूमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिएका छन्। निर्माण टिमले त्यहाँ एक गीतको छायांकन सकेर शनिबार नेपाल फर्किने जनाएको छ।

अनन्या फिल्मस् प्रा.लि. को ब्यानरमा निर्माण भएको यस सिनेमामा अनमोल र आँचलसँगै जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी, सुरक्षा पन्त र उषा खड्की जस्ता चर्चित कलाकारको अभिनय रहेको छ। सुयोग गुरुङ निर्देशित यो सिनेमाको कथा हेमराज बिसीले लेखेका हुन्।

सरोज न्यौपानेले निर्माण गरेको यस सिनेमामा रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले पनि लगानी साझेदारी गरेका छन्। सिनेमामा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ।

विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन रहेको यो सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार (अस्ट्रेलियाबाहेक) हङकङको एलजी एसोसिएट्सले लिएको छ। नेपालमा भने रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले यसको वितरण गर्नेछन्।