काठमाडौं: आगामी असोज १३ गते फूलपातीको अवसरमा रिलिज हुन लागेको सिनेमा ‘माइतीघर’ को प्रचारप्रसार तीव्र पारिएको छ। सिनेमाका पोस्टर तथा होर्डिङबोर्डहरू देशभरका हल र विभिन्न स्थानमा राखिएका छन्।
यसैबीच, सिनेमाका प्रस्तुतकर्ता रोहित अधिकारीले एक रोचक प्रतियोगिताको घोषणा गरेका छन्। ‘माइतीघर’ को शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहले ५ लाख नगद पुरस्कार जित्न सक्नेछन्। भदौको पहिलो साता सार्वजनिक हुने ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’ बोलको गीतमा नृत्य गरी ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर osrdigitalnp@gmail.com मा पठाउनुपर्नेछ।

सार्वजनिक भिडियोहरूमध्येबाट सर्वाधिक भ्युज आउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई पुरस्कार प्रदान गरिनेछ। सहभागीले भदौ २० गतेसम्म आफ्नो भिडियो पठाइसक्नुपर्नेछ। प्रतियोगिताको नतिजा असोज १२ गते घोषणा गरिनेछ।
मिलन तामाङको निर्देशनमा बनेको यस सिनेमामा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमामा भारतीय गायिका सञ्जीवनीको स्वर रहेको छ।
चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत र अष्ट महर्जनको एक्सन रहेको छ। सिनेमामा रबिन शेरचन र धिरज तामाङको लगानी रहेको छ भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन्।















