काठमाडौं : सिनेमा ‘रिमै’ को निर्माण टिमले आगामी भदौ २० गते हुने प्रदर्शनका लागि प्रचारप्रसारलाई तीव्रता दिएको छ। यसै क्रममा, टोलीले हालै सम्पन्न भएको ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा आयोजित र्यालीमा सक्रिय सहभागिता जनाएको थियो।
निर्देशक खिल बहादुर गुरुङ सहितको सम्पूर्ण टिम आदिवासी जनजाति समुदायको पहिचान, संस्कृति र अधिकारको संरक्षणको सन्देश लिएर र्यालीमा सहभागी भएको थियो। उनीहरूले हातमा ब्यानर र पोस्टर बोकेर परम्परागत धुनमा नाचगान गर्दै सिनेमाप्रति दर्शकको ध्यान आकर्षित गरेका थिए।

निर्देशक गुरुङका अनुसार, ‘रिमै’ सिनेमाले आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र उनीहरूले भोगेका चुनौतीलाई प्रस्तुत गर्नेछ।
सिनेमा ‘गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्राली’ को प्रस्तुति र ‘रोटेपिङ इन्टरटेनमेन्ट’ को सहकार्यमा निर्माण भएको हो। यसमा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।
सिनेमाको लेखन उपेन्द्र सुब्बाले गरेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीको रहेको छ। वीरवल घले कार्यकारी निर्माता, टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रूपमा रहेका छन्।
















