काठमाडौं: नेपाली सिनेमाका दर्शकले व्यग्रताका साथ प्रतीक्षा गरेको सिनेमा ‘जारी-२, सङ अफ च्याब्रुङ’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार २ मिनेट ३५ सेकेन्डको टिजर रिलिज गरेको हो। टिजरमा लिम्बू समुदायको सांस्कृतिक पहिचान बोकेको च्याब्रुङ बाजाको सेरोफेरोमा कथा घुमेको देखिन्छ।
टिजरको सुरुवात च्याब्रुङ बजाउन नजान्ने लिम्बूलाई ‘नाङ्गो पहाड’सँग तुलना गर्ने संवादबाट हुन्छ, जसले च्याब्रुङलाई लिम्बूको खुसीको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। यसले चलचित्रले संस्कृति, सामाजिक उतारचढाव र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेको सङ्केत दिन्छ।
उपेन्द्र सुब्बाद्वारा लिखित तथा निर्देशित यस सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। ‘जारी-२’ मा दयाहाङ राई, मिरुना मगर र विजय बराल प्रमुख भूमिकामा छन्। यसका साथै, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको पनि महत्त्वपूर्ण अभिनय रहेको छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यो सिनेमाले यस वर्ष बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।
यसअघिको फिल्म ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा थियो, जसले १७ करोडभन्दा बढीको व्यापार गरेको थियो। यही सफलताका कारण, ‘जारी-२’ सुरुदेखि नै बहुप्रतीक्षित चलचित्रको सूचीमा परेको हो।















