Sur Cinema

‘जनै हराएको मान्छे’को ट्रेलरमा काठमाडौंमा एक युवाले भोगेको संघर्ष

काठमाडौं । आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को ट्रेलर रिलिज भएको छ। जनै पूर्णिमाको अवसर पारेर निर्माण टिमले शनिबार ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा आर्थिक अभावका कारण कोरिया जान खोज्ने एक युवाको कथा र उसले काठमाडौंमा भोगेको संघर्षलाई देखाइएको छ।सिनेमाका मुख्य पात्र विजय बरालले बाउको ऋण तिर्न र परिवारलाई सुख दिन कोरिया जाने सपना देखेका छन्। तर, काठमाडौंमा ठगिएपछि उनी अनेक समस्यामा फस्छन्।

ट्रेलरमा विजयको संघर्षसँगै मिरुना मगरसँगको प्रेम सम्बन्ध र दिदी केकी अधिकारीले श्रीमानबाट पाउने दुःखका दृश्यहरूले दर्शकलाई आकर्षित गर्छन्।

निम्नमध्यम वर्गको पारिवारिक कथामा आधारित यो सिनेमाले आम नेपालीको यथार्थलाई प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ। हिमाल न्यौपानेको निर्देशनमा बनेको यो सिनेमा भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ।

सिनेमामा मिरुना मगर, विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। यसको निर्माण कमल न्यौपाने र विमल न्यौपानेले गरेका हुन्।