काठमाडौंः बलिउडका चर्चित अभिनेता दिपराज राणाले नेपाली सिनेमा ‘सुख दुःख’ मा अभिनय गर्ने भएका छन्। यो सिनेमाको निर्देशन अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले गर्दैछिन्।
दिपराज, जसले सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंङ ३ जस्ता कैयौँ भारतीय सिनेमामा काम गरिसकेका छन्, नेपाली दर्शकका लागि भने नयाँ अनुहार होइनन्। उनले यसअघि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सिनेमा ‘कोहिनूर’ मा पनि अभिनय गरेका थिए। लामो समयपछि उनी पुनः नेपाली सिनेमाको पर्दामा देखिन लागेका हुन्।
दिपराजका अनुसार, ‘सुख दुःख’को कथाले उनलाई निकै प्रभावित तुल्याएको छ। निर्माण पक्षका अनुसार, सिनेमाको कथा सुन्दा उनी भावुक समेत बनेका थिए। यद्यपि, सिनेमामा उनको भूमिका कस्तो हुनेछ भन्ने कुरा भने अहिले नै खुलाइएको छैन।
यस सिनेमामा दिपराज बाहेक विपना थापा, मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठको पनि अभिनय रहनेछ। विपनाले यसअघि नीतासँग सिनेमा ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरिसकेकी छन्। सिनेमाको छायांकनको जिम्मेवारी भने चर्चित भारतीय छायाँकारद्वय कवीरलाल र शाहिदलालले सम्हाल्नेछन्।
आगामी फागुनबाट छायांकन सुरु गर्ने तयारी गरिएको यो सिनेमा नीता फिल्म्सको ब्यानरमा बन्नेछ। यसलाई आगामी वर्ष दसैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याउने योजना छ। सिनेमाको वितरण उपत्यकाबाहिर एफडी कम्पनीले र उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले गर्नेछ।















