Sur Cinema

‘बलिदान’का चार पात्रका क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं – यस वर्षको दसैँको फूलपातीमा रिलिजको तयारीमा रहेको बहुप्रतिक्षित नेपाली सिनेमा ‘बलिदान’ टिमले चार मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ।

बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेनको भूमिकालाई दर्शकमाझ पहिलो पटक प्रस्तुत गरिएको हो।

निर्देशक सन्तोष सेनका अनुसार, टिजर सार्वजनिक हुनुअगावै सिनेमाका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलोपटक दर्शकमाझ प्रस्तुत गरिएको हो।

पोस्टर सार्वजनिक गर्दै निर्देशक सेनले भनेका छन्, “यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन्।”


सिनेमामा फरक र प्रभावशाली भूमिकामा देखिएका कलाकारहरूमध्ये हेमन्त बुढाथोकी सयौँ सिनेमामा खलनायकको रूपमा आफ्नो गहिरो छवि बनाइसकेका अनुभवी कलाकार हुन्। निर्देशक सेनले हेमन्तको भूमिकाबारे उल्लेख गर्दै भनेका छन्, “जसको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ।”

त्यस्तै, संवेदनशील र गहिरा भूमिकामा आफूलाई साबित गरिसकेका अभिनेता अर्पण थापालाई निर्देशकले यस्तो पात्रका रूपमा प्रस्तुत गरेका छन्, “जसको आँखा बाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्नेछन्।”

अभिनेत्री ऋचा शर्मा सिनेमामा एक फरक तरिकाले समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन्। निर्देशकका अनुसार, “उनी प्रत्येक संवादमा जीवनको असल मर्म उजागर गर्ने पात्र हुन्।”

साथै, निर्देशक सेन आफैँ पनि सिनेमाको एक प्रभावशाली भूमिकामा प्रस्तुत हुनेछन्। आफूले निभाएको पात्रबारे उनले लेखेका छन्, “एक यस्तो पात्र, जो केवल कथाभित्र सीमित छैन, उसले आफ्नो समाजलाई परिभाषित गरेको छ।”

यसअघि सिनेमाका प्रमुख अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ। त्यस्तै, अभिनेता सौगात मल्लको रहस्यमय अवतार प्रस्तुत गर्ने पोस्टर र समीरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि–टिजरले पनि व्यापक चर्चा बटुलेको थियो।

यस्तै, सिनेमाको प्रचार प्रसारलाई नयाँ उचाइमा पुर्‍याउँदै निर्माताले देशभर ‘बलिदान ब्यानर’ अभियान चलाएका छन्, जसमा देशैभर विशाल ब्यानरहरू राखिएका छन्।

‘बलिदान’लाई फरक कथावस्तु, सशक्त प्रस्तुतीकरण र भावनात्मक गहिराइका साथ विदेशी सिनेमाहरूको भीडमा समेत नेपाली सिनेमाको अलग पहिचान बनाउने उद्देश्य लिइएको निर्देशक सेनले जनाएका छन्।

‘आसुसेन फिल्म्स् प्रा.लि.’को प्रस्तुति रहेको सिनेमाका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।