Sur Cinema

‘सिटामोल’: नयाँ गीत ‘रातो पछ्यौरी’मा सौगात र बेनिशाको प्रेमिल केमिस्ट्री

काठमाडौं । प्रदर्शनको संघारमा रहेको सिनेमा ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ। आगामी साउन २३ गतेबाट देशभर एकसाथ रिलिज हुने तयारीमा रहेको सिनेमाको आक्रामक प्रचार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो।

यस गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको छ भने बाबुल गिरीले शब्द, संगीत तथा एरेन्जमेन्ट तयार गरेका छन्। गीतले नेपाली मौलिकता झल्काउने र सिनेमाको कथालाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

यसअघि सार्वजनिक गरिएको सिनेमाको ट्रेलरले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको थियो। ट्रेलरमा नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी उदासिनतालाई हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्न सफल भएको देखिन्छ। यसअघि सार्वजनिक गीत, पोस्टरले समेत दर्शकको ध्यान राम्रैसँग तानेको देखिन्छ।

राजबहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। साथै, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, साथै बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको पनि दमदार अभिनय रहनेछ। श्रीकृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गर्दै छन्।

तुल्सी देवी सिनेमा प्रा.लि. को निर्माण तथा जुनतारा सिनेमा्सको सहकार्यमा बनेको सिटामोलको कथा प्रदीप भारद्धाज र निर्देशक राजबहादुर सानेले लेखेका हुन्। सिनेमामा सिमोस सुनुवारको प्रस्तुति, भूगोल कुमार कार्की र विकाश राज जोशीको निर्माण, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसीको कार्यकारी निर्माण तथा गंगाराम श्रेष्ठको सह-निर्माण रहेको छ।

सिनेमामा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन म्यानेजमेन्ट तथा दिव्य सुवेदीको छायांकन रहेको छ।