काठमाडौं – ‘दिब्यासी फिल्म्स प्रा.लि.’ को ब्यानरमा निर्माण भएको सिनेमा ‘परिवर्तन’ को छायाङ्कन ५६ दिनमा पूरा भएको छ।
निर्माता दीपक सिवाकोटीका अनुसार सिनेमाका दुई गीतबाहेक अन्य सम्पूर्ण दृश्यको छायाङ्कन हालै सम्पन्न भएको हो। अब सिनेमामा समावेश हुने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी छ।
झापाको बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिकालगायत विभिन्न स्थानमा ‘परिवर्तन’को छायाङ्कन गरिएको छ। पूर्वी नेपालको प्रमुख सहर विराटनगरमा समेत यसको छायाङ्कन भएको थियो।
विजय केरुङको निर्देशनमा तयार भएको यस सिनेमामा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा छन्। सुशील र अञ्जनाका साथमा गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, हेमन्त बुढाथोकी, आएशा कार्की, सागर खरेल, राजु खरेल, कृष्ण कोइराला, सुवास खरेल, कल्पना खतिवडा, शंकर श्रेष्ठ, रोहन सेन्चुरी, यमनाथ खरेलजस्ता कलाकारहरूको पनि अभिनय रहेको छ।
एक्सन हिरोको रूपमा चिनिएका अभिनेता सुशील श्रेष्ठको यस सिनेमालाई लिएर दर्शकहरू निकै उत्साहित छन्। हालै उनको एक्सन अवतारको तस्बिर सार्वजनिक भएपछि दर्शकहरूमाझ यस सिनेमाप्रति उत्साह झन् थपिएको छ।
निर्माता सिवाकोटीले नै लेखेको मूल कथामाथि आधारित ‘परिवर्तन’ले नेपालको सिमाना सुरक्षा, भ्रष्टाचार, र गरिब, दुःखी तथा असहाय जनताको पीडालाई उजागर गर्नेछ। शिवम अधिकारीले पटकथा तथा संवाद तयार पारेका हुन्।
सिनेमाको निर्माण टिममा प्रोडक्सन हेडको रूपमा अरुण रेग्मी, छायाङ्कन निर्देशनमा शिव ढकाल, सम्पादनमा बन्दे प्रसाद, द्वन्द्व निर्देशनमा श्री श्रेष्ठ, र पोस्टर डिजाइनमा रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्ट रहेका छन्।
झन्डै पाँच दशकअघि वि.सं. २०२८ मा निर्देशक हिरा सिंह खत्रीले ‘परिवर्तन’ नामक सिनेमा निर्देशन गरेका थिए। सोही नामको नयाँ कथासँगै यो सिनेमा दर्शकमाझ आउन लागेको हो।
निर्माता सिवाकोटीका अनुसार यसै वर्षभित्र सिनेमालाई प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ। अब बाँकी रहेका गीतको छायाङ्कनलगत्तै पोस्ट-प्रोडक्सनको काम सुरु गरिने उनले बताए।















