Sur Cinema

देश दौडाहामा पल : सिनेमाको गीतमा दर्शक सङ्गै गरे नृत्य !

काठमाडौं : यहि शुक्रबार अर्थात साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मोहर’को प्रचारप्रसारमा नायक पल शाह दौडिरहेका छन् । नायक शाह सिनेमाको प्रचारका क्रममा यतिबेला चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए । उनले, चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार समेत गरे । सिनेमाको गीतमा समेत पल र दर्शक नृत्य गरेका थिए ।

नायक शाह र गायक थानेश्वर गौतमले चितवनका दर्शकलाई सिनेमा हेर्न आग्रह समेत गरेका थिए । दर्शकहरुले पनि सिनेमाको ट्रेलर र गीतसंगीतले प्रभावित बनाएको भन्दै आफूहरु ‘मोहर’का लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए । पलले दर्शकहरुसँग बसेर ‘मोहर सफलताको केक’ समेत काटेका थिए ।

चितवनका दर्शकसँग साक्षात्कार गरेका पलले आज पोखरामा आयोजना हुने कार्यक्रममा दर्शकसँग भेटघाट गर्नेछन् । फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो सिनेमालाई ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार पारिएको हो । सिनेमाका निर्माता चुम्बन जंग शाही हुन् ।

सिनेमामा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ । देउकी प्रथाको कथामा आधारित यो सिनेमाको सेन्सर समेत भएको छ । चलचित्र सेन्सर बोर्डले यो सिनेमालाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो सिनेमा हेर्नका लागि १६ वर्ष मुनीका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ ।