Sur Cinema

विकास बोर्डद्वारा ‘सिनेपाः’ स्टुडियोको दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं : नेपालको सिनेमा क्षेत्रमा आधुनिक पूर्वाधारको खाँचो पूरा गर्ने उद्देश्यले सरकारी स्वामित्वमा बन्न लागेको अत्याधुनिक इनडोर सिनेमा स्टुडियो ‘सिनेपाः’ को दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ।

चलचित्र विकास बोर्डले आज (२०८२ साउन १८) गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै इच्छुक निर्माण कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई–बिडिङ प्रणालीबाट प्रस्ताव पेस गर्न आह्वान गरेको हो।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, जनगलमा ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने यस स्टुडियोले स्वदेशी सिनेमा निर्माताहरूलाई प्रविधियुक्त, गुणस्तरीय र लागत–मैत्री छायांकन स्थल उपलब्ध गराउने अपेक्षा गरिएको छ। यो परियोजना वर्षौंदेखि योजनामै सीमित रहेकोमा हालै निर्माण चरणमा प्रवेश गरेको हो।

पहिलो टेन्डर २०८१ माघ २७ मा
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, ‘सिनेपाः’ नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो इनडोर सुटिङ स्टुडियो हुनेछ। यसअघि, २०८१ माघ २७ गते पहिलो चरणको निर्माणका लागि टेन्डर आह्वान गरिएको थियो।

प्रधानमन्त्रीद्वारा शिलान्यास

२०८२ वैशाख ३० गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित आफ्नो निवासमा आयोजित एक विशेष कार्यक्रममा ‘सिनेपाः’ स्टुडियोको निर्माण आरम्भ भएको औपचारिक घोषणा गरेका थिए। सो अवसरमा प्रधानमन्त्री ओलीले यस परियोजनालाई नेपाली सिनेमा क्षेत्रका लागि ‘एक प्रकारको क्रान्ति’ को संज्ञा दिँदै छ दशकदेखिको सपना साकार भएको बताएका थिए।

बोलपत्रसम्बन्धी जानकारी

दोस्रो चरणको निर्माणका लागि ठेक्काको पहिचान नम्बर FDB/Indoor Film Studio/W/NCB/01/2082-083 रहेको छ। परियोजनामा सहभागी हुन चाहने कम्पनीहरूले रु. ३६ लाखको बोलपत्र सुरक्षा रकम र रु. १० हजारको दस्तावेज शुल्क बुझाउनु पर्नेछ। विस्तृत जानकारी चलचित्र विकास बोर्डको वेबसाइट www.fdbnepal.gov.np तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा उपलब्ध छ।

यस स्टुडियोको निर्माणले नेपाली सिनेमा उद्योगमा अन्तर्राष्ट्रिय मापदण्डको वातावरण सिर्जना गर्ने र समग्र सिनेमा क्षेत्रको विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।