Sur Cinema

बिक्की गुरुङको नयाँ गीत ‘डर लाग्छ’मा प्रेम र बिछोडको भाव

काठमाडौं : चर्चित गायक, गीतकार र सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षको अन्तरालपछि आफ्नो नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। प्रेम र बिछोडका भावनात्मक पक्षलाई आत्मीय रूपमा प्रस्तुत गर्ने बिक्कीका गीतहरूले सधैँ श्रोताको मन जित्ने गरेका छन्।

यसपटकको ‘डर लाग्छ’ गीतमा पनि उनले शब्द, सङ्गीत र स्वर स्वयंले दिएका छन्, जसले उनको बहुआयामिक प्रतिभालाई झल्काउँछ।
गीतको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापतिको अभिनय रहेको छ, जसले गीतको भावलाई अझ गहिरो बनाएको छ। निर्देशक विजय दोङले भिडियोलाई निर्देशन गरेका हुन् भने जितु तामाङले छायाङ्कन, सम्पादन र कलर ग्रेडिङको जिम्मा सम्हालेका छन्।

अमेरिकामा बसोबास गर्दै आएका बिक्की गुरुङले सन् २०१५ मा आफ्नो साङ्गीतिक यात्रा ‘केवल’ गीतबाट सुरु गरेका थिए। त्यसपछि उनका ‘मरी जाऊँ’ र ‘मरी जाऊँ २’ जस्ता गीतहरूले अत्यधिक सफलता पाए। उनको सङ्गीतमा परम्परागत नेपाली धुन र आधुनिक शैलीको सुन्दर मिश्रण पाइन्छ, जसले उनलाई नेपाली सङ्गीत क्षेत्रमा एक फरक र ताजा आवाजका रूपमा स्थापित गरेको छ।

‘डर लाग्छ’ गीतको निर्माण भिक्टर रसाइलीले गरेका छन् भने रुपेश साख्याले बाँसुरी, सुमन बिकेले गिटार र किरण महर्जनले सारङ्गी वादनबाट यसलाई अझै कर्णप्रिय बनाएका छन्। यो गीतले पनि श्रोतामाझ बिक्की गुरुङको सशक्त साङ्गीतिक उपस्थितिलाई पुन: स्थापित गर्ने विश्वास गरिएको छ।