काठमाडौं – दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु सिनेमा ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ। यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व हो।
फेस्टिभलले जारी गरेको सूचनाअनुसार, सिनेमाको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ। यस पटक महोत्सवका लागि ३,०५९ वटा सिनेमा पेस भएका थिए, जसमध्ये उत्कृष्ट १० मा ‘रिहाना’ पर्न सफल भएको हो । सिनेमाका निर्माता केदार भुसालले यस उपलब्धिले नेपाली कथाहरूलाई विश्वसामु पुर्याउने प्रयासलाई निरन्तरता दिएको बताएका छन्।
सिनेमालाई ‘अ दुम्सी पिक्चर्स प्रोडक्सनले निर्माण गरेको हो, जसमा मिराज मोशन पिक्चर्स, अन्डरग्राउन्ड टकिज र पिक्चर फ्रेमको सहकार्य रहेको छ। सिनेमाको लेखन तथा निर्देशन सुरज पौडेलले गरेका हुन्। यसमा पृथु भट्ट र सृजना अधिकारीको मुख्य भूमिका छ। सिनेमालाई उज्ज्वल बस्ताकोटी, अभिनाश विक्रम शाह र केदार भुसालले मिलेर निर्माण गरेका हुन् भने रोशनी अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छन्।
शिशिर विशंखेको छायाङ्कन रहेको चलचित्रको सम्पादन गौरव कुमार मुल्लिकले गरेका हुन्। कास्टिङ निर्देशकको जिम्मेवारी मदन श्रेष्ठले निभाएका छन्। यसै गरी, साउन्ड डिजाइन र मिक्सिङको काम डिकेश खड्गी शाहीले गरेका छन्, र राम लाल खड्का प्रोडक्सन डिजाइनरका रूपमा छन्। फिल्मको सह–लेखन शैलेश आरसी (एलएसएम)ले गरेका छन्।
फेस्टिभल लिङ्क – https://www.biff.kr/eng/html/program/prog_view.asp















