Sur Cinema

शनिबार ‘माग्ने राजा’को आक्रामक व्यापार : दर्शक प्रतिक्रियाले उत्साहित टिम

काठमाडौं : निर्माण घोषणादेखि नै चर्चामा रहेको सिनेमा ‘माग्ने राजा’ले अपेक्षाअनुरुप नै हलमा दर्शक फर्काएको छ । शुक्रबार बिहानीको सोमा औसत दर्शक पाएको सिनेमाले मध्यान्हको समयदेखि हाउसफुल दर्शकको साथ पाएको थियो । शुक्रबार मध्यान्ह यताको लयलाई कायम राख्दै सिनेमाले शनिबार भने बिहानैदेखि हाउसफुलको व्यापार गर्न सफल भएको थियो ।

सिनेमाले आक्रामक व्यापार गरेपछि निर्देशक ऋषि लामिछाने ‘माग्ने राजा’का मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । सिनेमाको निर्माण टिम हल पुग्दा ‘माग्ने राजा’ हेरेका अधिकांश दर्शकले सिनेमाले दिएको सन्देश निकै मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

सिनेमाका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई दर्शकले जुरुक्कै बोकेर ‘माग्ने राजा’ भन्दै नाराबाजी समेत गर्ने गरेका छन् । जसले गर्दा दर्शकमाझ उनको क्रेज कति छ भन्ने जो कोहीले सजिलै अनुमान गर्न सक्छन् । सिनेमाका मुख्य अभिनेता केदार घिमिरे पनि आफु भुइामान्छेलाई दर्शकको यस्तो आर्शिवादले उत्साहित बनाएको बताउँछन् । त्यससँगै आगामी दिनमा अझै राम्रो सिनेमामा काम गर्नु पर्ने चुनौती थपिएको उनको बुझाई छ । 

 निर्देशक ऋषि लामिछाने पनि तीज पछि सिनेमाका दर्शक थप बढ्ने विश्वासमा छन् । अहिले हलमा महिला दर्शकको उपस्थिति पातलो रहेको र तीजपछि यसमा बढोत्तरी हुने बताउँछन् । ‘मुखैमा तीज रहेकाले महिला दर्शक अझै हलमा आउन भ्याउनु भएको छैन भन्ने लागिरहेको छ । परिवार नै बसेर हेर्न मिल्ने सिनेमा रहेकाले तीजपछि हलमा पारिवारिक माहोल अझ बढ्ने विश्वास छ,’ लामिछानेले भने ।

मुनाल घिमिरेको निर्माण रहेको सिनेमाले मनोरञ्जन र सन्देशलाई सन्तुलित हिसाबले प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन् । “छक्का पञ्जा” सिरिज बाहिर आएर पहिलो पल्ट सोलो अभिनेताको रुपमा सिनेमालाई हाँकेका केदार घिमिरेको कमेडीलाई दर्शकले भरपुर रुचाएको प्रतिक्रिया दिएका छन् । सिनेमामा वर्षा सिवाकोटी , विल्सनविक्रम राई, शारदा गिरी र शिशिर वाङदेलले पनि केदार घिमिरेको यात्रालाई मज्जाले साथ दिएका छन् ।