Sur Cinema

‘गुन्यु चोलो’ ट्रेलर : लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष

काठमाडौं : सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ । आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ ।

ट्रेलरमा सिनेमाका मुख्य पात्र नाजिर हुसेनलगायत अन्य कलाकारलाई देख्न सकिन्छ । सिनेमा भदौ १३ गते रिलिज हुनेछ । समुन्द्र भट्टको निर्देशनमा तयार भएको सिनेमामा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी र संचारकर्मी निशा बजगाईँले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । सिनेमाको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।

सिनेमामा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । यो सिनेमा नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । सिनेमामा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । सिनेमाको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सिनेमाका सहयोगी निर्माता हुन् ।

आलोक शुक्लाले खिचेको सिनेमामा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो सिनेमा अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।