Sur Cinema

कलेज कलेजमा ‘रियाल रिङ्गेट’ टिम

काठमाडौं : यही श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘रियाल रिङ्गेट’ले प्रदर्शन पूर्वको प्रचारमा विशेष जोड दिइरहेको छ । सिनेमाको प्रचार टोली अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर फरक शैलीमा प्रचार अभियान सञ्चालन गरिरहेको छ।

क्याम्पस क्याम्पसमा भइरहेको यो प्रचारमा सिनेमाका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन, कलाकारहरू प्रमोद चौलागाईं, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको सक्रिय सहभागिता रहेको छ। उनीहरू हालसम्म विनायक सिद्ध कलेज, द इनसाइट भिजन एसएस कलेज, साइपाल एकेडेमी लगायतका शिक्षण संस्थामा पुगेका छन्।

निर्देशक विभोर पोखरेलका अनुसार, सिनेमाले नेपाली श्रमिकहरूको वास्तविक कथा बोल्ने प्रयास गरेको छ । सिनेमाको नाम ‘रियाल रिङ्गेट’ नै कतार, साउदी अरब र मलेसिया जस्ता नेपालीका प्रमुख श्रम गन्तव्य राष्ट्रहरूलाई सङ्केत गर्छ।

सिनेमामा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ भने सङ्गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको योगदान रहेको छ।