काठमाडौं : तिहारको अबसरमा आगामी असोज ३१ गतेलाई प्रदर्शन मिति तय गरेको सिनेमा ‘जेरी अन टप’को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले सिनेमाको प्रचार थालनी गर्दै बिहिबार एकसाथ तीन पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा सिनेमाका तीन प्रमुख कलाकार अभिनेता अनमोल केसीसँग अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ फिचर्ड छन् । पोस्टरमा समावेश पृष्ठभूमिले सिनेमाको कथा खोलेको छ, जहाँ अनमोल र जसिता हिमाल आरोहीको अबतारमा प्रस्तुत छन् भने अर्को पोस्टरमा अनमोल दुबै अभिनेत्रीसँग रोमान्टिक अबतारमा छन् । पोस्टरले ‘जेरी अन टप’मा त्रिकोणात्मक प्रेम रहेको संकेत गर्छ ।
सुयोग गुरुङको निर्देशनमा तयार यो सिनेमामा अनमोल, आँचल र जसितासँगै चर्चीत हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी, कलाकार निर्मल शर्मा, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि प्रमुख अभिनयमा छन् ।
सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा यो सिनेमालाई छायांकन गरिएको छ । सिनेमाका केहि दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको थियो ।
सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको यो सिनेमाको कथा हेमराज बिसीको हो । कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।
सिनेमामा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र ब्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ । सिनेमाको रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् ।















