Sur Cinema

विजय र दियाको बारम्बार सट बिग्रिएपछि !

काठमाडौँ : वैज्ञानिक कल्पनामा आधारित सिनेमा ‘एक्लो’को केही महत्वपूर्ण दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ । निर्देशक प्रदीप शाहीका अनुसार, तीन मिनेट लामो एक सट दृश्य खिच्न विशेष तयारी गरिएको थियो, जसमा अभिनेता विजय लामा र अभिनेत्री दिया पुन सहभागी थिए ।

दृश्यमा पाइलट विजय लामाको अगाडि सवारी दुर्घटनाको दृश्य देखिन्छ, जहाँ जम्बीको कारण भिडभाड भएको देखाइएको छ। उक्त दृश्यले सिनेमाको कथा अघि बढाउने महत्त्वपूर्ण मोडको प्रतिनिधित्व गर्छ । छायांकनको क्रममा कलाकारहरू पटक–पटक दौडिएर कार र साइकलबीच भएको दुर्घटनास्थलमा पुग्ने दृश्य पुनः अभिनय गर्नुपरेको थियो। सट बिग्रिएपछि बारम्बार ‘कट’ भन्दै दृश्य दोहोरिनु पर्‍यो । निर्देशकको अनुसार, दुई मिनेट लामो वान सट दृश्य खिच्न झण्डै ६ घण्टा लाग्यो।

सिनेमा ‘एक्लो’ नेपाली सिने क्षेत्रमा दुर्लभ वैज्ञानिक कथामा आधारित सिनेमा हो, जसमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन् । हाल सिनेमाको पोस्ट–प्रोडक्सन कार्य लन्डनमा भइरहेको छ र आगामी पुष महिनामा, क्रिसमस अवसर पारेर रिलिजको तयारी भइरहेको छ।

यस सिनेमाले यसअघि कान्स फिल्म फेस्टिभलको बजार क्षेत्र (मार्केट) मा आफ्नो उपस्थिति जनाएको थियो, जसले अन्तर्राष्ट्रिय स्तरमा पनि चासो बटुलेको छ । सिनेमाको निर्देशन प्रदीप शाहीले गरेका हुन् । लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिरहेका छन् ।

सिनेमामा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह तथा बेलायती अभिनेता जेमी बेकन छन्।

निर्माताहरूमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।

प्राविधिक पक्षमा, छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाईन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा, र प्रोडक्सन डिजाईन द्रोण प्रसाद पौडेल ‘ठेउके’ को जिम्मेवारीमा रहेको छ । ‘एक्लो’ नेपाली सिनेमा उद्योगमा वैज्ञानिक कल्पनामा आधारित उच्चस्तरीय प्रस्तुति दिनेतर्फको एक गम्भीर र महत्त्वाकांक्षी प्रयासका रूपमा हेरिएको छ।