Sur Cinema

‘होस्टेल अगेन’ निर्माण घोषणा : प्रेम र द्वन्द्वको समिश्रण

काठमाडौं : ‘होस्टेल ३’ को सफलतापछि सोही निर्माण समूहले ‘होस्टेल अगेन’ निर्माण घोषणा गरेको छ । सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको पोस्टरले सिनेमाको विषयवस्तुलाई प्रस्ट पार्न खोजेको छ ।

पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले यो सिनेमा ‘होस्टेल’ सिरिजका अघिल्ला टीनएज ड्रामाहरूभन्दा फरक, थ्रिलर वा सस्पेन्स श्रेणीको हुने देखाउँछ । चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई दर्साउँछ । उक्त पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् ।

यस सिनेमामा ‘होस्टेल ३’ का निर्देशक सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन् ।

नेपाली सिनेमामा नयाँ प्रतिभाहरूलाई अवसर दिने र बक्स अफिसमा सफल हुने क्रममा रहेको यसै परम्परालाई ‘होस्टेल ३’ ले पनि निरन्तरता दियो र अब ‘होस्टेल अगेन’ ले पनि नयाँ प्रतिभाहरूलाई जन्माउने अपेक्षा गरिएको छ ।