Sur Cinema

‘जनै हराएको मान्छे’को टिजर प्रतिक्रिया : विजय बरालको चौतर्फी तारिफ

काठमाडौं : भदौ ६ गते रिलिज हुने सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’को टिजरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । छोटो समयमा १२ लाखभन्दा धेरै दर्शकले युट्युबमा हेरेको टिजरले मन छोएको दर्शकले बताइरहेका छन् ।

धेरैले विजय बरालको अभिनयको तारिफ गरेका छन् । धेरै युवाको पैसा कमाउने आकर्षक गन्तब्य बनेको कोरियोको कथा टिजरमा उठान गरेको मन पराएका छन् । यसरी आइरहेका प्रतिक्रियाप्रति निर्माण टिम उत्साहित छ । विषय छ र पात्र छनोटमा दर्शक सन्तुष्ट रहेकाले अब सिनेमा पनि त्यस्तै ल्याउनुपर्ने चुनौती रहेको निर्देशक हिमाल न्यौपानेले बताएका छन् ।

हिमाल न्यौपानेले निर्देशन गरेको सिनेमामा विजय बराल, केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा, रेयर राई, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।सिनेमाको असोसियट निर्देशकमा मनिष राउत छन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । सिनेमामा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

नवीन गुरुङको डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको सिनेमामा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक, तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन् । सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

सिनेमामा शाहिल खानको टिजर-ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् । सिनेमाको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ ।