Sur Cinema

इलामको हारियालीमा क्यामेरा पूजा गर्दै ‘मैझारो’को छायांकन सुरु

काठमाडौं : नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट सिनेमा ‘मैझारो’को छायांकन सुरु भएको छ । साउने सङ्ग्राती अर्थात साउन १ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको हो । अभिनेता विल्सन विक्रम राई, जो ‘तक्मेबुढा’ नामबाट चर्चित छन्, निर्देशनमा डेब्यु गर्दै उक्त सिनेमा निर्माण सुरु गरिएको हो।

सिनेमाको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुने बताइएको छ । सिनेमामा पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई आधार बनाइएको निर्देशक राईले जानकारी दिएका छन् । सिनेमाको कथा, पटकथा र निर्देशन राई स्वयंले गरेका हुन्।

सिनेमामा धिरज मगर, मिरुना मगर, दिया पुन, सुनिल थापा, कविता आले, पुस्कर गुरुङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरुङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय रहनेछ। संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले संयोजन गर्ने फिल्ममा स्वर गायक राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू, अनमोल गुरुङलगायतले दिनेछन्। छायांकनको जिम्मा सौरभ लामाले सम्हालेका छन्।